कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई कृषि बीमालेख बिक्री नरोक्न निर्देशन दिएको छ ।

अनुदानबापतको रकम उपलब्ध गराउन कृषि मन्त्रालयसँग समन्वय भइरहेको भन्दै प्राधिकरणले कृषि बीमालेख बिक्री नरोक्न निर्देशन दिएको हो ।

बीमा कम्पनीहरूले कृषि बीमामा सरकारले अनुदान बापतको रकम उपलब्ध नगराएको भन्दै बीमालेख बिक्री रोकेका थिए । बुधबार बीमक संघले विज्ञप्ति जारी गर्दै अनुदान बापतको रकम उपलब्ध नगराएकाले कृषि बीमालेख बिक्री गर्न नसकिने बताएको थियो ।

संघको उक्त विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले बीमा कम्पनीहरुलाई बीमालेख बिक्री र दाबी भुक्तानी नरोक्न निर्देशन दिएको हो ।

‘कृषि तथा पशुपन्छी बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भइरहेको छ,’ प्राधिकरणको निर्देशनमा भनिएको छ, ‘र निकट भविष्यमा रकम प्राप्त हुने नै हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपन्छी बिमा व्यवसाय तथा दाबी भुक्तानी सुचारु गर्न निर्देशानुसार आग्रह गरिएको छ ।’

आगामी दिनमा यस प्रकारका बीमा बजारमा भ्रम सिर्जना हुने तथा बीमाको विश्वसनीयतामा नै असर पर्ने खालका विज्ञप्ति एंव सूचना सम्प्रेषण नगर्न समेत प्राधिकरणले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here