काठमाडौं । सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेपनि विदेशी फलफूलको आयात बढेको छ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा विदेशबाट ११ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ ।
यस अवधिमा सबैभन्दा धेरै स्याउ आयातमा ६ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, अङ्गुर आयातमा १ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बाहिरिएको छ । अङ्गुरको आयात स्याउपछि सबैभन्दा धेरै हुने गरेको छ ।
यसपछि सुन्तलाको आयातमा १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बाहिरिएको देखिएको छ । सुन्तलाको आयात तेस्रो नम्बरमा छ । यसबाहेक विदेशबाट ९ करोडको भुइँकटर, चार करोडको एभोकाडो आयात भएको छ ।
यसबाहेक वाटर मेलोनको आयातमा ३६ करोड, मेवामा आयत १८ करोड तथा नासपतिको आयातमा २३ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ ।