८ लाखले प्रयोग गर्छन् टेलिकमको फोरजी, दशैंअघि ३२ जिल्लामा सेवा

जितेन्द्र खनाल

काठमाडौं, ७ असोज । नेपाल टेलिकमको ‘फोर जी एलटीइ सेवा प्रयोगकर्ता ८ लाख नाघेको छ ।

गत साउन मसान्तसम्म्को तथ्यांक अनुसार काठमाडौं र पोखरा उपत्यकामा मात्रै टेलिकमको फोर जी प्रयोगकर्ता ८ लाख १८ हजार पुगेको नेपाल टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताएकी छिन् ।

उनका अनुसार हाल टेलिकम आफ्नो फोरजी सेवा विस्तारलाई विशेष प्राथमिकताका अगाडी बढाएको । ‘अहिले हामी अरु भन्दा पनि फोरजी सेवा विस्तारमा नै केन्द्रित छौं ‘उनले भनिन् ।

दशैअघि ३२ जिल्लामा फोर—जी सेवा

टेलिकमका प्रवक्ता वैद्यका अनुसार दशैअघि देशका विभिन्न ३२ वटा जिल्लामा नेपाल टेलिकमको फोर—जी सेवा विस्तार गर्ने तयारी भईरहेको छ । ‘दशैअघि ३२ वटा जिल्लामा फोर—जी विस्तार गर्ने तयारीका साथ हामी काम गरिरहेका छौं,’ उनले भनिन्, ‘जसमा सातवटै प्रदेश समावेश छन् ।’

प्रवक्ता वैद्यका अनुसार सातवटा प्रदेशका राजधानी तथा मुख्य शहरमा दशैअघि फोर—जी विस्तार गरिने योजना छ ।

हेटौंडा, वुटवल, विराटनगर, नेपालगंज तथा अन्य मुख्य सहरहरुमा दशैअघि फोर—जी विस्तार भईसक्ने दावी उनको छ ।
टेलिकमले १ वर्षभित्र फोर—जी सेवा विस्तारको लागि वि.सं. २०७५ माघमा चिनियाँ कम्पनी जेडटीई र हङकङको सीसीएसआईसँग १ वार्षभित्र काम गरिसक्नेगरि सम्झौता गरेको थियो ।

के के काम हुदैछ ?

टेलिकमले दुवै कम्पनीलाई छुट्टा छुट्टै कामको लागि छनौट गरिएको थियो । जसमा नेपालको विभिन्न ५ मुख्य सहरमा कोर नेटवर्क स्थापना गर्ने जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले ५ वटै शहर (काठमाडौं, हेटौंडा, बुटवल, नेपालगंज, र विराटनगर) मा कोर विस्तार गरिसकेको छ ।

त्यस्तै नयाँ बीटीएस टावर निर्माण गर्ने र र्यान विस्तार गर्ने जिम्मा पाएको सीसीएसआईले पनि नयाँ टावर निर्माण र र्यान विस्तार गरेको छ । उसले गरेको कामको गतिको आधारमा टेलिकमले दशैंअघि ३२ जिल्लामा सेवा विस्तार हुने योजना वा अपेक्षा राखेको प्रवक्ता वैद्यले बताइन् ।

हाल काठमाडौं र पोखरा उपत्यकामा मात्र फोर—जी सेवा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here