विमानस्थल भन्सारमा अर्थमन्त्रीको निरीक्षण, मालवस्तुको समयमै निकासी र लिलामी गर्न निर्देशन

काठमाडौं, ८ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शिता र कुशलता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै उनले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायीमैत्री भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी रुपमा तयारी गर्न नागरिक उडड्यन विभागसँग समेत पर्याप्त सहकार्य गर्नुपर्ने आवश्यकता उनले देखेका छन् ।

विमानस्थलमा अन्य निकायको समेत समन्वय हुने भएकाले प्रभावकारी, छिटोछरितो र सहज रुपमा सेवा दिन सम्बन्धित सबै निकायलाई अर्थमन्त्रीले निर्देशन दिए ।

मन्त्री खतिवडाले विमानस्थलमा भौतिक पूर्वाधारको समस्यालाई नागरिक उडड्यन प्राधिकरणसँग सहकार्य गरेर व्यवस्थापन गरिने उनको भनाइ थियो ।

भन्सारमा रहेका मालवस्तु तथा सामानहरुको समयमै निकासी तथा लिलामी गरी काम नलाग्नेलाई स्टलमा नराखी खाली गर्न समेत उनले निर्देशन दिए ।

तोकिएको राजस्व पुरा गर्न सबै प्रकारका प्रयासहरु गर्न आवश्यक जनशक्तिको व्यवस्थापनमा अर्थ मन्त्रालय र भन्सार विभागले ध्यान दिन उनले सुझाए ।

निर्यात हुने मालवस्तुलाई प्राथमिकता दिनुपर्ने भन्दै जाँचपास प्रक्रियालाई सरल, छिटो र चुस्तदुरुस्त बनाई विवेकीय एवम् नीतिगत रुपमा स्वच्छ सेवा दिन सुरक्षा निकाय, अध्यागमन, प्राधिकरण भन्सारलगायतको उत्तिकै सहकार्य तथा सहयोग आवश्यक पर्ने अर्थमन्त्री डा. खतिवडाको भनाइ थियो ।

स्थलगत निरीक्षणमा भन्सार विभागका महानिर्देशक सुमन दाहाल, अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख झक्कप्रसाद आचार्य, त्रिविका सुरक्षा प्रमुखलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here