एएचएफले थाल्यो विश्वभर ‘हाम्रो समाज बचाउ’ अभियान

काठमाडौं । एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ)ले गरिब मुलुकमा महामारी कोषको रकम बढाउन माग गर्दै विश्वभर अभियान थालेको छ । विश्वव्यापी जनस्वास्थ्यका क्षेत्रमा भएका प्रणालीगत असमानताहरुलाई सम्बोधन गर्न माग गर्दै उक्त अभियान थालेको हो ।

एएचएफ नेपालले पनि सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै ‘सेभ आवर सोसाइटी’ नारासहित गरिब मुलुकमा सहायता बढाएर मानव जगतलाई बचाउन आह्वान गरेको छ ।

कार्यक्रर्ममा स्वास्थ्य मन्त्रालयका अतिरित्त सचिव डा. दीपेन्द्र रमण सिंह, एएचएफका क्षेत्रिय एडभोकेसी मर्कोटिङ म्यानेजर दीपक ढुंगेल, एएचएफ नेपालका प्रमुख दिब्यराज जोशीले आ-आफ्ना भनाई राखेका थिए ।

कोभिड-१९ मा पछि महमारी कोषको अवधारणा अगाडि बढेको हो । सो अभियानलाई नेपाल सरकारले समेत स्वागत गरेको र नेपालजस्ता मुलुकको हित हुने गरी पहल भइरहेको स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्र रमण सिंहले जानकारी दिए ।

कार्यक्रममा एसओएस अभियान इक्वीटी सम्झौताको अभिन्न र बाध्यकारी अंश बनाउन, विश्वका नेताहरुलाई महामारी र अन्तराष्ट्रिय स्वास्थ्यका तयारीको क्रममा खोप, महामारी पहिचान र थेराप्युटिक्स् जस्ता आवश्यक स्वास्थ्य सामग्रीहरुमा सबै देशहरुको लागि उचित पहुँच सुनिश्चित गर्न माग गरिएको थियो ।

कोभिड महामारीको समयमा गरिब मुलुकले भोगेको असमानता पुनः नदोहोरियोस् भन्ने उद्देश्यले यस्तो माग गरिएको एएचएफ नेपालका प्रमुख जोशीले बताए । सो बेला गरिब मुलुकले ढिला मात्र खोप प्राप्त गरेका थिए ।

गरिब मुलुकहरूले सुरुमा मास्क र सामान्य उपचारका लागि समेत तड्पिनु परेको र साथै खोप खरीदमा महँगो पर्दा थप समस्यामा परेकाले सो अवस्था अब नआओस् भनेर गरिब मुलुकलाई महामारी कोषको सहायता बढाउनको लागि यो अभियान शुरु गरिएको एएचएफका क्षेत्रिय एडभोकेसी मर्कोटिङ म्यानेजर ढुंगेलले बताए ।

ठूला अर्थतन्त्र भएका मुलुक र विश्व स्वास्थ्य संगठनबीच मे २०२४ को अन्तिमसम्म महामारी कोष सञ्चालन गर्ने सम्बन्धमा सम्झौताको निर्णय हुने तयारी छ । महामारी कोषको आकार १० बिलियन डलर पुर्‍याउने र सोबाट हरेक वर्ष १ बिलियन डलर वितरण गर्ने तयारी छ । यसको सञ्चालन विश्व बैंकले गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here