घरघरै पेट्रोल बिक्रीले गाउँ असुरक्षित, चोरीको डरले पेट्रोलसँगै सुत्छन् ब्यापारी

नेपालगञ्ज, ९ असोज । बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् ।

भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको नरैनापुर अहिले पनि बाँकेका अन्य स्थानीय तहको तुलनामा दुर्गम मानिंदै आएको छ ।

यहाँ विकासका पूर्वाधार छैनन् । हुलाकी सडक भर्खरै जोडिँदै छ । विद्युत् पुगेको छैन । केही वडामा सोलार जडान गरिएको छ । सडक सञ्जालले जोडिएपछि यहाँ यातायात साधन बढेका छन् ।
तर, गाउँपालिकामै व्यवस्थित पेट्रोल पम्प छैन । गाउँमा सवारी साधन बढेसँगै तेलको माग हुन थालेपछि नरैनापुर–२ का ६३ वर्षे जेब्रिल खाँले पाँच वर्षदेखि घरमै पेट्रोल बेच्दै आएका छन् ।
तर, उनी आफै सुरक्षित महसुस भने गर्न सकेका छैनन् । ‘पेट्रोल राखिएको नजिकै ओछ्यान लगाएर सुत्छु,’ उनले भने, ‘प्रायः त यहाँ पेट्रोल चोरी हुने गर्छ ।’

खाँका अनुसार चोरी हुन नदिन पेट्रोल छेउमै सुत्ने अधिकांश व्यापारी कसैले रिसले आगो लगाइदिने हो कि भन्ने त्रासमा हुन्छन् ।

नरैनापुर–२ का ४० वर्षीय श्रीस बाबाले दुई वर्षदेखि पेट्रोल बेच्न थालेका छन् । एक लिटर पेट्रोलमा रु १० देखि २० सम्म नाफा देखेपछि यहाँका अधिकांश गाउँले पेट्रोल बिक्रीमा संलग्न भइरहेका छन् ।

यहाँ दैनिक १० देखि २० लिटर पेट्रोल बिक्री हुँदै आएको कारोवारमा संलग्नहरुको भनाइ छ । ‘आगोबाट जोगाउनु मुख्य चुनौती छ । ठूलै पम्प खोलेर व्यवस्थितरूपमा व्यापार गर्न लगानी छैन,’ बाबाले भने । खुलेआम पेट्रोल बेच्नु सिङ्गो गाउँ नै असुरक्षित हुनु हो । यस्तो अवस्थामा स्थानीय तह बढी सचेत हुनुपर्ने देखिएको छ ।

खुला पेट्रोल व्यापारले सबैभन्दा बढी खतरा आगलागीको हुने नेपाल आयल निगम बाँकेका प्रमुख नवविनोद पोखरेलले बताए । उनका अनुसार गुणस्तरीय पेट्रोल नपाउनु, मात्रामा घटी हुनुले ग्राहक ठगिने सम्भावना पनि उत्तिकै बढी हुन्छ । स्थानीय तह, प्रहरी प्रशासन र निगमले यस विषयमा जनचेतना फैलाउनु जरुरी रहेको उनको भनाइ छ ।

नरैनापुरमा खुलेआम पेट्रोल बिक्री वितरण भइरहँदा स्थानीय तह र प्रहरी प्रशासनले रोकथामका लागि भने यस विषयमा चासो देखाएको छैन ।

खुलेआम पेट्रोल बेच्दा बस्ती नै असुरक्षित भएको नरैनापुर इलाका प्रहरी कार्यालयका प्रमुख भूपालसिंह ठकुरीले बताए । तर, यसको रोकथामका लागि भने प्रहरी मौन बसिरहेको स्थानीयवासीको गुनासो छ ।

प्रशासनले खुलेआम पेट्रोल बेच्नेलाई रोक लगाउन निर्देशन दिए पनि प्रहरीको बेवास्ता र स्थानीय तह मौन बस्दा खुलेआम पेट्रोल बिक्री रोकथाम हुनसकेको छैन ।

नरैनापुरको सिङ्गो गाउँपालिकामै पेट्रोलपम्प नभएको गाउँपालिका अध्यक्ष मोहम्द इश्तियाक शाहले बताए । घरघरमा असुरक्षित पेट्रोल बिक्री नियन्त्रणको सम्भावना नभएको भन्दै उनले सुरक्षित बिक्रीका लागि सचेतना आवश्यक रहेको पनि बताए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here