बागमती नगरपालिकाका मेयरसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, ३० करोड बिगो दाबी

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा ( निलम्बित)सहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरूले ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेहरूमा मेयर थापा, उपमेयर लिलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरी रहेका छन् ।

नगरपालिकाको वडा नम्बर ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको बिक्री गर्दा सरकारी सम्पत्तिमा हानी नोक्सानी र्पुयाएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरू विरुद्ध ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ बिगो माग दाबी समेत गरेको छ ।

मेयर थापा विरुद्ध यसअघि गत चैतमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको थियो । सो मुद्दामा उनलाई ५ करोड ३३ लाख ५३ हजार १९० रुपैयाँ बिगो दाबी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here