पाँच प्रदेशमा मनसुनको प्रभाव, गण्डकीमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं । देशका पाँच प्रदेशमा मनसुनको प्रभाव रहेको छ भने केही भूभागमा अत्यधिक वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ। जल तथा मौसम विभागका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मनसुन फैलिन सकेको छैन।

मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको आकलन छ। आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशका केही स्थानमा भने आज अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here