दुई करोड रुपैयाँ लुटपाट गर्ने समूह पक्राउ, मामा मुख्य योजनाकार

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटका डिल्लीबहादुर राउतको घरबाट दुई करोड रुपैयाँ लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न रहेको आरोप चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। उनीहरूले गत असार ४ मा लुटपाट गरेका थिए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी–२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र सिन्धुपाल्चोकका कृष्णबहादुर बोहरा रहेका छन्।

उनीहरूले आफूहरू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को ‘प्रहरी हुँ’ भन्दै लुटपाट गरेका थिए । पक्राउ परेकाहरूमध्ये बोहरा प्रहरी हवल्दार हुन् । लुटपाट घटनामा मुख्य योजनाकार डिल्लीबहादुरकै मामा कुलबहादुर खत्री रहेको खुलाएको छ । डिल्ली र कुलबहादुर दुवै वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने गरेको खुलेको छ ।

प्रहरीले उनीहरूको साथबाट ३६ लाख ३६ हजार रुपैयाँ बरामद भएको छ। घटनामा प्रयोग भएको बा.प्र.०२–०४० प.५५३८ र बा.प्र.०२–०३३ प ६१७४ नं. को २२० सीसीको मोटरसाइकल, १० थान मोबाइल, लुटिएको रकम बोक्न प्रयोग गरेको झोला, चोरी तथा लुटपाट गर्दा लगाएको कपडा, खुकुरीलगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here