मनसुन थप तीन दिन सक्रिय, ३० जिल्ला ‘रेड जोन’मा

काठमाडौं । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप विभागले ‘रेड जोन’मा राखेको छ ।

‘रेड जोन’मा परेका जिल्लाहरुमा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङ छन् ।

यसैगरी लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पुर्व पनि रेड जोनमा परेका छन् । कर्णाली प्रदेशका जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालिकोट, जुम्ला र हुम्लालाई पनि जल तथा मौसम विज्ञान विभागले रेड जोनमा राखेको छ ।

यसैगरी सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जिल्ला ‘रेड जोन’मा छन् ।

यसैगरी विभागले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३४ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ ।

कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here