वेलायतमा सत्तारुढ कन्जर्भेटिभ पार्टीको लज्जास्पद हार, लेबरले जित्यो झण्डै दुईतिहाई सिट

काठमाडौं । संयुक्त अधिराज्य (वेलायत)मा भएको संसदीय निर्वाचनमा किअर स्टार्मरको लेबर पार्टीले अध्यधिक बहुमत पाएको छ।

विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको यूकेमा यसपालि लेबर पार्टीले ६५० मध्ये ४०४ सीट जितेको हो। यूकेको संसद्‌मा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ।

सत्तारुढ कन्जर्भेटिभ पार्टीले जम्मा ११३ सीट मात्रै जितेको छ । अब लेबर पार्टीका नेता केइर स्टार्मर यूकेको नयाँ प्रधानमन्त्री बन्ने ठानिएको छ। स्टार्मरले ‘अब परिवर्तन सुरु हुन्छ भनेका छन्।

निर्वाचनमा लेबर पार्टीको विजय स्वीकार गर्दै प्रधानमन्त्री तथा कन्जर्भेटिभ नेता ऋषि सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गरेका छन्।

यसपालि हाउस अफ कमन्समा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक हो। अहिलेसम्म २४० भन्दा बढी महिला उम्मेदवार सांसद निर्वाचित भइसकेका छन्। सन् २०१९ को निर्वाचनमा २२० महिला सांसद थिए।

बीबीसीको प्रक्षेपणमा यसपालि ६० प्रतिशतजति मात्रै मत खसेको देखिएको छ।त्यसमध्ये लेबर पार्टीले ३५ प्रतिशतजति, प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले २४ प्रतिशतजति अनि रिफर्म यूके पार्टीले १५ प्रतिशतजति मत पाएको देखिन्छ।

अहिलेसम्मको निर्वाचनमा यसपालि कन्जर्भेटिभ पार्टीले पाएको मत सबैभन्दा कम हो। बिहीबार भएको मतदानमा ‘एक्जिट पोल’ भनिने सर्वेक्षणहरूले स्टार्मरको लेबर पार्टीले फराकिलो जित हात पार्ने देखाएका थिए। एक्जिट पोल वास्तविक नतिजा नभए पनि विगतका निर्वाचनहरूमा यस्ता सर्वेक्षणहरूको प्रक्षेपण मिलेको देखिन्छ।

कहिले बन्छन् नयाँ प्रधानमन्त्री

यूकेमा राजाले सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।एउटै दलले बहुमत सीट हासिल गरेको अवस्थामा यूकेमा सप्ताहान्तअघि नै नयाँ प्रधानमन्त्री नियुक्त हुने ठानिएको छ।

नराम्रो चुनावी नजिता बेहोरेका ऋषि सुनकले अब ‘टेन डाउनिङ स्ट्रीट’ भनिने प्रधानमन्त्री कार्यालय छोड्ने छन्।संसद्‌मा दोस्रो धेरै सीट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्छन्।नवनिर्वाचित संसद्को बैठक जुलाई ९ मा बस्ने छ।

यूकेमा प्रधानमन्त्री बन्न लागेका स्टार्मर को हुन्

कानुनी पृष्ठभूमिका सर किअर स्टार्मर सन् २०१५ मा मात्रै यूकेको सांसद बनेका हुन्।लन्डनको ‘होबेन एन्ड सेन्ट प्यान्क्रस’ क्षेत्रबाट निर्वाचित भएपछि उनी सांसद बनेका थिए।

लेबर पार्टीमा छाया गृहमन्त्रीको जिम्मेवारी पाएका स्टार्मरलाई सन् २०१९ मा जेरमी कोर्बिनको स्थानमा पार्टी नेताको जिम्मेवारी दिइएको थियो।

लेबरलाई दोस्रो विश्वयुद्धपछि दोस्रो धेरै मत

बीबीसी, आईटीभी न्यूज र स्काई न्यूजले गरेका एक्जिट पोलहरूमा दोस्रो विश्वयुद्धपछि लेबर पार्टीले सबैभन्दा दोस्रो धेरै सीट जित्ने देखिएको छ।सन् १९९७ मा टोनी ब्लेअरले निकै फराकिलो जित हासिल गरेका थिए।

होबेन एन्ड सेन्ट प्यान्क्रसबाट निर्वाचित भए पछि स्टार्मरले ‘परिवर्तनको आरम्भ भएको’ र आफूहरूले ‘काम गरेर देखाउने समय आएको’ प्रतिक्रिया दिएका छन्।स्टार्मरले सामाजिक सञ्जाल ‘एक्स’मा आफ्नो पार्टीलाई विश्वास गरेर मत दिएकोमा मतदाताहरूलाई धन्यवाद दिएका छन्।

रक्षामन्त्री र पूर्वप्रधानमन्त्री पनि पराजित

प्रधानमन्त्री सुनकको कन्जर्भेटिभ पार्टीका कतिपय शीर्ष नेताहरूले समेत निर्वाचनमा पराजय बेहोरेका छन्।पूर्वप्रधानमन्त्री लिज ट्रस ६०० मतले पराजित भएकी छन्। रक्षामन्त्री ग्रान्ट श्याप्स लेबर पार्टीका उम्मेदवारसँग पराजित भएका छन्।

मतसर्वेक्षणहरूले अर्थमन्त्री जेरमी हन्ट पनि आफ्नो क्षेत्रबाट पराजित हुन सक्ने देखाएका छन्। बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here