काठमाडौं। शुक्रबारदेखिको लगातार वर्षाका कारण काठमाडौं उपत्यकाभित्रका नदि तथा खोलामा बाढी आएको छ । वाग्मती, विष्णुमती, मनोहरालगायत खोलामा बाढी र हुनसक्ने डुबान रोकथामका लागि सुरक्षाकर्मी परिचालित भएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको कमाण्डमा टोली परिचालित भएको हो। गृहमन्त्रालयले प्रहरी वृतका इन्चार्जलाई अलर्ट र परिचालन गरिएको जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट एसपी पूर्णबहादुर साउदको कमाण्डमा टोली परिचालित भएको छ। उनको टोलीले यूएन पार्क, शंखमुल इलाकामा खटिएको छ। त्यस्तै प्रहरी निरीक्षक कृष्ण गिरीको नेतृत्वमा १५ जना प्रहरीको टोली पेप्सीकोला,मनोहरा खोला करिडोरमा खटाइएको छ।
धोबीखोला,बागमती खोला करिडोर, गोकर्णेश्वर माकलबारी, बल्खु एरिया, विष्णुमति एरिया, थापाथली एरिया, शंखमुल एरिया, मनोहरा खोला, धोबीखोला एरिया, जडिबुटी एरिया, पशुपति क्षेत्र गरि ३०० भन्दा बढीको संख्यामा सुरक्षाकर्मी खटिएका छन्। त्यस्तै नेपाल प्रहरीले पनि सोही संख्यामा प्रहरी टोली परिचालन गरेको छ।
जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई मोबाइलामा एसएसएस अलर्ट पठाउँदै सतर्क गराएको छ।