बाढीको जोखिम सोमबारसम्म रहने, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम सोमबारसम्मै रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले जारी गरेको सूचनामा आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदीहरुका साथै कन्काई, कमला र पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने छ । महाशाखाका अनुसार आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने पूर्वानुमान छ ।

त्यस्तै आइतबार र सोमबार नारायणी, कोशी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान छ । नारायणी, कोशी र महाकालीमा उच्च जोखिमको अवस्था हुने पूर्वानुमान छ । यसैगरी कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती, झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, चितवन, कास्की, बागलुङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपरासी पूर्व र आसपासका जिल्ला भई बग्ने नदी तथा खोलाहरुमा आकस्मिक बाढीको मध्यम जोखिम छ ।

नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, प्युठान, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बैतडी र बझाङमा पनि मध्य जोखिम छ ।

सोमबार कोशी, बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम र मधेश प्रदेशका नदी तथा खोलाहरुमा बाढीको जोखिम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here