मनसुन देशैभर सक्रिय, कहाँ छ धेरै जोखिम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने भएको छ । विभागले उच्च सतर्कता अपनाउन भनेको छ । मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो ।

महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अर्थात् नेपालको दक्षिण सिमाना आसपास छ । उक्त रेखा आज रातिबाट अझै नेपालतर्फ सर्ने सम्भावना छ । भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ ।

त्यसैले यी दुवै प्रणालीको प्रभावले आज असार २६ गते रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको छ । सोही विश्लेषणको आधारमा महाशाखाले नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ ।

महाशाखाले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुरलाई उच्च जोखिमको सूचीमा राखेको छ । यसैगरी मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी तथा बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली र रसुवा पनि उच्च जोखिमको सूचीमा परेका छन् ।

गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लम्जुङ र गोर्खा जिल्लालाई पनि महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ । उच्च जोखिमको सूचीमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम र दाङ पनि परेका छन् । मध्यम जोखिममा कोशी प्रदेशबाट ओखलढुंगा मात्र परेको छ । बागमतीबाट रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र नुवाकोट जिल्ला पनि मध्यम जोखिममा छन् ।

गण्डकीका मनाङ र मुस्ताङ तथा लुम्बिनीका बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा, प्युठान र अर्घाखाँची तथा कर्णालीका दैलेख, सुर्खेत, सल्यान, रुकुम पश्चिम र जाजरकोट जिल्ला मध्यम जोखिमको सूचीमा छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम र बैतडी जिल्लालाई पनि मौसम पूर्वानुमान महाशाखाले मध्यम जोखिमको सूचीमा राखेको छ । न्यून जोखिममा कर्णालीका डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङ जिल्ला छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here