काठमाडौं । नारायणी नदीमा सोमबार थप ९ शव भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार विनयी त्रिवेणीस्थित गण्डक ब्यारेजको पुल आसपास ६ वटा शव भेटिएका हुन् ।
त्यस्तै सुस्ता ४ मा एउटा, भरतपुर सिसुवारमा एउटा र मध्यविन्दु भुताहामा एउटा शव फेला परेको हो । आज भेटिएका ९ मध्ये एउटा शवको सनाखत भएको छ । सुदिप विकको शव उनका बुबाले सनाखत गरेका हुन् । पहिचान भएको फिरोज राहुप मियाको परिवारले सनाखत गर्न बाँकी छ ।
उनीहरू दुवै शुक्रबार भएको सिमलताल बस दुर्घटनाका बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । अन्य पनि सोही दुर्घटनाका बेपत्ताहरू हुन सक्ने जनाइएको छ ।
सिमतालको पहिरोमा परी गत शुक्रबार दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । जसमा ६५ यात्रु भएको पुष्टि भएको छ । हालसम्म १४ शव फेला परे पनि ७ वटाको मात्रै सनाखत भएको छ । बसमा रहेकामध्ये तीन जना पौडिएर बाहिर निस्किएका थिए ।