होटल व्यवसायी र अर्थमन्त्रीबीच भेट, पर्यटक आगमन बढाउन माग

काठमाडौं । होटल संघ नेपाल (हान)ले विमानस्थलहरू पूर्ण क्षमतामा चल्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

मंगलबार हानका अध्यक्ष विनायक शाहसहितको प्रतिनिधि टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएर पर्यटक आगमन बढाउन माग गरेको हो ।

भेटमा अर्थमन्त्री पौडेलले बढ्दै गएको होटलहरूको संख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्री पौडेलले पर्यटकीय तथा राष्ट्रिय महत्त्वका पोखरा, चितवन, लुम्बिनीलगायत राजमार्ग विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटनरहोटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने बताउँदै व्यवसायीहरुले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने माग प्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने बताए ।

उनले नेपालमा आउने भारतीय पर्यटकबाट खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरूमा मन्त्रालय सकारात्मक रहेको बताए ।

हानका अध्यक्ष शाहले होटलको संख्या तथा क्षमता बढे अनुरूप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीति लगायतका सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गर्दै ज्ञापनपत्र पेस गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here