केरला पहिरोमा परेर मृत्यु हुनेको संख्या १२३ पुग्यो

काठमाडौं । भारतको केरला राज्यस्थित वायनाडका विभिन्न स्थानमा मंगलबार गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ । केरला प्रदेशको मुख्यमन्त्री कार्यालयका एक अधिकारीलाई उधृत गर्दै बीबीसीले यसको पुष्टी गरेको हो ।

मंगलबार साँझसम्म पहिरोमा परी घाइते भएका १ सय ३१ जनाको उद्दार गरी अस्पतालमा उपचार भईरहेको बताइएको छ । कम्तीमा ९० जना अझै हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

उद्धार कार्यमा खटिएका भारतीय सुरक्षा निकायका एसडीआरएफ, एनडीआरएफलगायतले २ सय ५० जनालाई उद्धार गरेको बताइएको छ । पहिरोमा केही नेपाली पनि परेको आशंका गरिए पनि त्यसको पुष्टि हुन भने सकेको छैन ।

वायानाड क्षेत्रका होटल, कृषि तथा पशु फार्ममा काम गर्ने नेपालीको संख्या उल्लेख्य छ । बीबीसीका अनुसार मंगलबार सबेरै २ देखि ३ बजेको समयमा वायनाडका तीन ठाउँमा पहिरो गएको हो ।

निरन्तरको वर्षा र पहिरोले उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ । खराब मौसमले हेलिकोप्टरबाट उद्धारमा समेत कठिनाइ भइरहेको छ ।

केरलको पहाडी क्षेत्र वायनाडका मुन्डक्कई, चुरलमाला, अट्टामाला र नुलपुझालगायतका गाउँमा पहिरो जाँदा घर, पुल, सडकलगायत भौतिक संरचना बगाएको छ । केरलका मुख्यमन्त्री पिन राई विजयनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेशमा दुई दिनको राजकीय शोकको घोषणा गरेका छन् ।

प्रदेशका मुख्य सचिव बी वेणुले दुई दिन औपचारिक सभा समारोह नगरिनुका साथै प्रदेशमा राष्ट्रिय झन्डा आधा झुकाइने जनाएका छन् । राष्ट्रपति, प्रधानमन्त्री तथा विपक्षी दलका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई २ लाख तथा घाइतेलाई ५० हजार सहयोगको घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here