देशभर २२ जनामा हैजा पुष्टी, कसरी जोगिने ?

काठमाडौं । देशभर २२ जनामा हैजा पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको पानी भएपनि उमालेर पिउन भनेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शिघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरे ।

डा. बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ। यसका साथै काठमाडौंको टोखा तथा कैलालीको धनगडीमा पनि हैजा संक्रमित भेटिएका छन् ।

खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाईमा प्राय सबै सजग रहेपनि बर्खायाममा पानीको स्रोतमा ढल मिसिने तथा पहिरोले पानीको पूर्वधारलाई हानी पुर्‍याउँदा हैजाको संक्रमण नेपालमा हरेक वर्ष देखिने गरेको छ ।

भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा झाडापखालासहित पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र वान्ता हुने र कडा जलवियोजनका लक्षण देखिन्छन् ।

डा. बुढाथोकीका अनुसार हैजाको जिवाणुबाट संक्रमित भएकाहरूले समयमा नै उचित स्वास्थ्योपचार नपाएमा मृत्यु हुने जोखिम उच्च रहेको छ । हैजा भनेको सामान्य झाडापखाला जस्तो होइन । तुरन्तै स्वास्थ्य संस्था नपुगे ५० सम्म प्रतिशत मुत्युदर हुन्छ ।

हैजा संक्रमित ८० प्रतिशतमा कुनै लक्षण नहुने तर उनीहरूको दिसामा संक्रमित भएको १० दिनसम्म हैजाको जिवाणु हुनसक्छ । त्यस्ता संक्रमितले अरुलाई सार्न सक्ने सम्भावना धेरै हुन्छ ।

डा. बुढाथोकीले देशका अन्य स्थानबाट पनि हैजा संक्रमित भेटिएको खबर आएपनि त्यो र्‍यापिड किटको परीक्षणमा मात्रै देखिएको र प्रयोगशालामा कल्चर गरेर हेर्दा भिब्रियो कोलेरा नभेटिएको पनि बताए । हैजाबाट जोगिनका लागि पानीको मुहानलाई प्रदूषित हुनबाट जोगाउनु पर्छ ।

यसका साथै झिंगा लागेका, सडेगलेका, नपाकेका र खुलास्थानमा राखिएका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई सकेसम्म उमालेर वा क्लोरिनका साहयताले निर्मलिकरण गरेर मात्रै प्रयोग गर्नुपर्छ । यस्तै, शौचालयको प्रयोग गरेपछि तथा खानाखानु अघि अनिवार्य रूपमा साबुन पानीले मिचिमिची हात धुने बानी गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here