इन्डोनेसियाको ७९औँ स्वतन्त्रता दिवसमा काठमाडौँमा झन्डोत्तोलन, जनस्तरमा सम्बन्ध बढाइने

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको कार्यालयले शनिबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम गरेको छ । अवैतनिक वाणिज्यदूतको कार्यालय रहेको आइएमई कम्प्लेक्स परिसर पानीपोखरीमा एक कार्यक्रम आयोजना गरी झन्डोत्तोलन गरिएको हो ।

सो अवसरमा बोल्दै नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपाल र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताए ।

दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने कुरामा उनले जोड दिए ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको राजदूतको आवासीय कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ ।

इन्डोनेसिया दक्षिणपूर्वी एशियाली राष्ट्रहरुको संगठन (आसियान)का सदस्यहरु मध्येको ठूलो अर्थतन्त्र भएको मुलुक हो । नेपाल र इन्डोनेसिया बिचको व्यापारको परिमाण पनि ठुलो रहेको छ । झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here