भारतीय समकक्षी निर्मला सितारमणसँग भेट्दै अर्थमन्त्री डा. खतिवडा

काठमाडौं, १५ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय समकक्षी निर्मला सितारमणसँग भेट्ने भएका छन् ।

यी दुई अर्थमन्त्रीवीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम रहेको अर्थ मन्त्रीका प्रेस संयोजक यमन पौड्यालले जानकारी दिएका छन् । उनीहरुबीच भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुनेछ ।

यसका साथै नेपालको पछिल्लो आर्थिक स्थिति र नेपाल–भारत सम्बन्धबारे पनि डा. खतिवडा र सिथारमणले छलफल गर्ने बताइएको छ ।

अर्थमन्त्री खतिवडा आज भारतको नयाँ दिल्लीमा शुरु भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सो कार्यक्रममा उनले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा अतिथि वक्ताको रुपमा सम्बोधन गर्ने छन् ।

साथै, नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा समेत उनले सहभागीहरुलाई जानकारी गराउने छन् ।

सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्नेछन् ।

सम्मेलनमा ४० भन्दा बढी मुलुकका ८ सय भन्दा बढी नागरिक समाज र सरकारका प्रतिनिधिहरुले भाग लिइरहेका छन् । सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, सिंगापुरका उपप्रधानमन्त्री तथा अर्थमन्त्री हेङ स्वी किट, संयुक्त राज्य अमेरिकाका वाणिज्य मन्त्री विल्बर रोस, भारतीय वाणिज्य, उद्योग तथा रेलवे मन्त्री पियुष गोयल र माल्दिभ्सका सभामुख मेहमद नासिदलगायतले सम्बोधन गर्नेछन् ।

अर्थमन्त्री डा. खतिवडा असोज १८ गते स्वदेश फर्कने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here