नदी किनारबारे एमालेको दोहोरो चरित्रविरुद्ध बालेनको झटारो, २०७६ सालमा फैसला आउँदा किन वास्ता गर्नु भएन ?

काठमाडौं । काठमाडौंका नदी किनारबारे एमालेले देखाएको दोहोरो चरित्रबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोस व्यक्त गरेका छन् । उनले एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको यो चरित्रलाई ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ उखानबाट पुष्टी गर्न खोजेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो चरित्रले देश बिगार्दैछ ।’ आफुले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने प्रधानमन्त्रीले थाहा पाउनु भन्दा पनि ३ बर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनिएको उनले स्मरण गराएका छन् ।

त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री रहेको समेत उनले स्मरण गराएका छन् । उनले नै नियुक्त गरेका महान्यायधिवक्ता अग्नि खरेल, उनकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उनकै पार्टी एमालेले बनाएको काठमाडौंका मेयर विद्यासुन्दर शाक्य त्यसबेला कुर्सीमा रहेको समेत उनले स्रमण गराएका छन् ।

उनले लेखेका छन्, ‘यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरेपछि, नदितट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यहि हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन (भ्याकेट) गर्ने अधिकार रहन्छ ।

प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका किन नगएको भन्दै उनले प्रश्न गरेका छन् ।

उनी भन्छन्, ‘यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन, हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।’

उनले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गर्न समेत आह्वान गरेका छन् । उनले भनेका छन्, ‘अन्यथा, पछि धोका पाउनु हुनेछ सरकारबाट अर्को मापदण्ड ल्याएर ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here