आजदेखि मनसुन पून सक्रिय, यी २७ जिल्ला उच्च जोखिममा

काठमाडौं। आजदेखि मनसुन पुनः सक्रिय भएसँगै देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना भएको बताइएको हो । आज दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना भएको विभागले जानकारी दिएको छ । त्यस्तै एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

त्यस्तै आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

असोज ९ गतेदेखि भने मनसुनी वायुको प्रभाव अझै बढ्दा सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत चल्ने छ ।

सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदुरपश्चिमका जिल्लामा पर्ने छ। ती क्षेत्रका २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राखिएको छ।
महाशाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको रेड जोनमा परेका छन् ।

यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ ।
कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधु्रा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन् ।

वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ ।

यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको विभागले जानकारी दिएको छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here