भारतमा आँधी-नेपालमा त्रास, ढुक्क भएर धान भित्राउन मौसमविद्को आह्वान

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् । तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ ।

‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ । यसको असरले ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको छ ।

प्रभावित क्षेत्रबाट हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार टोलीलाई उच्च सतर्कताका साथ राखिएको छ । हवाई र रेल सेवा स्थगित गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ ।

दाना चक्रवातको सबैभन्दा बाहिरी घेराका हल्का बादलमात्र नेपालसम्म आउने मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार चक्रवातको असरले कोशी प्रदेशको तराईदेखि पहाडसम्मै हल्का वर्षाको सम्भावना छ । तर अन्य स्थानमा खासै वर्षाको सम्भावना छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको छ । तर यो वर्षा स्थानीय वायुको प्रभावले भएको मौसमविदले बताएका छन् ।

मौसमविद झाका अनुसार आगामी २४ घण्टामा पनि कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here