इजरायलले थाल्यो इरानमा हमला, मध्यपूर्वमा अझै युद्ध चर्कने खतरा

काठमाडौं । इजरेलले इरानी सैन्य स्थलहरूमा निशानाबद्ध हवाई हमला थालेको छ । ती हमलालाई इजरेलले आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरूले बारम्बार गरेका हमलाको जबाफ भएको बताएको छ। इजरेली सेनाले हमलाको काम पूरा भएको जनाउँदै भनेको छ, हाम्रा विमानहरू सुरक्षित रूपमा घर फर्किएका छन्।

तर कुन–कुन ठाउँहरू प्रहार गरिएको हो र क्षतिको तह कस्तो छ भन्ने प्रस्ट भइसकेको छैन। इजरेली डिफेन्स फोर्सेस आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले आफ्नो प्रतिरक्षा गर्ने अधिकार र दायित्व इजरेल सामु भएको जनाएका छन्। तीन साताअघि इरानले इजरेलमा झण्डै दुई सयको सङ्ख्यामा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

इरानको रेभुलस्नरी गार्ड्सनिकट एक समाचार संस्थाका अनुसार इरानको राजधानीको पश्चिम र दक्षिण पश्चिममा रहेका सैन्य आधारहरू निशानामा पारिएका छन्। जेरुसलेमस्थित एकजना बीबीसी संवाददाताले इजरेलले आफ्ना हमला परमाणु वा तेल प्रशोधन केन्द्रमा नभई सैन्य निशानामा केन्द्रित गरेको देखिएको जनाएका छन्।

इजरेली हवाई हमलाको निशानामा सिरियाको राजधानी दमास्कससहित देशका मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थल समेत पारिएको सिरियाको सरकारी समाचार संस्थाले जनाएको छ। इराकमा समेत राजधानी बग्दादनजिकै विस्फोटनका विवरण आएका छन्।

इजरेलले भने इरानबाहिर भएका हमलाका विवरणबारे प्रतिक्रिया जनाएको छैन। अहिलेसम्मको अवस्थामा इरानी सरकारी सञ्चारमाध्यमले भने आफूविरुद्धका हमला असफल भएको बताएका छन्। तर विज्ञहरूले त्यस्ता हमलापछि त्यो इरानले सामान्यतः दिने प्रतिक्रियाको शैली भएको बताएका छन्।

गम्भीर क्षति वा मृत्युका विवरण सतहमा देखा परेमा त्यो परिवर्तन हुनसक्ने भन्दै विज्ञहरूले सजग गराएका छन्। ह्वाइटहाउसले इजरेलको आत्मरक्षाको अभ्यासमा अमेरिकाको कुनै संलग्नता नरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here