साफ महिला फुटबल : आज सेमिफाइनलका खेल, नेपाल र भारत भिड्दै

काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेल आज हुँदैछन् । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ । दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले सर्वाधिक ५ पटकको च्याम्पियन भारतको सामना गर्नेछ ।

यो खेल साढे ६ बजे सुरु हुनेछ । समूह चरणमा दिनको दोस्रो खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले दोस्रो सेमिफाइनलको समय एक घण्टा पछि सारिएको एन्फाले जनाएको छ ।

सेमिफाइनलसम्म आइपुग्दा अहिलेसम्म भारत बाहेक बाँकी तीन टिम अपराजित छन् । नेपाल भुटान र बंगलादेश समूह्य चरणमा अपराजित रहे । नेपाल भारत र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् ।

भुटान भने सेमिफाइनल पुगेको यो दोस्रो पटक हो । साविक विजेता बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस्तै घरेलु टोली नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारत समूह ए को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

नेपाल र भुटानले आफ्नो समूहमा २ जित १ बराबरी नतिजा निकाल्दै अपराजित रह्यो । नेपाल र भुटानले समान ७ अंक जोडेपनि गोलअन्तरमा अघि रहँदै नेपाल समूह विजेता बनेको हो ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११–० र श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । समूह ए मा बंगलादेशले एक जित र एक बराबरीबाट ४ अंक जोड्यो । भारत एक जित र एक हारको नतिजा निकाल्दै ३ अंक जोडेर उपविजेता बन्यो । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ ले पराजित गरेको थियो ।

दोस्रो खेलमा पाकिस्तानले साविक विजेता बंगलादेश विरुद्ध निर्धारित ९० मिनेटसम्म अग्रता लिएपनि अतिरिक्त समयमा गोल खाएपछि खेल १–१ को बराबरीमा सकिएको थियो । बंगलादेशले हार टार्दै समूह चरणबाटै बाहिरिने सम्भावनालाई टारेको थियो । त्यसपछि बंगलादेशले भारतलाई ३–१ ले पराजित गर्दै समूह ए को विजेता बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here