नेपाल–भारत जेडब्ल्युजी बैठक बंगलुरुमा शुरु, बुटवल–गोरखपुर ४०० केभी प्रशारण लाइनबारे छलफल हुने

काठमाडौं, २८ असोज । नेपाल भारत ऊर्जा क्षेत्र सहकार्यका लागि संयुक्त कार्य समूह (जेडब्ल्युजी)को सातौं बैठक भारतको बंगलुरुमा सोमबार शुरु भएको छ ।

बैठकमा दुवै देशका सहसचिव तथा अतिरिक्त सचिवले आआफ्नो मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गरेको नयाँ दिल्लीस्थित नेपाली दूताबासले ट्वीटमार्फत जानकारी दिएको छ ।

त्यसैगरी संयुक्त कार्य समूहको बैठक मंगलबार शुरु हुने र दुवै मुलुकका ऊर्जा सचिवले बैठकको अध्यक्षता गर्ने पनि दूताबासले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ऊर्जा सचिव दिनेश घिमिरेले गर्दैछन् ।

बैठकले दुवै मुलुकबीच ऊर्जा क्षेत्रमा सहकार्य बढाउने, अहिलेसम्मको सहकार्यको समीक्षा गर्ने, सीमापार प्रशारण लाइन, ऊर्जा ब्यापार र ऊर्जा बैंकिङ जस्ता विषयमा छलफल गर्ने छ ।

ऊर्जा मन्त्रालयका अनुसार न्यू बुटवल– न्यू गोरखपुर ४०० केभी सीमापार प्रशारण लाइनको मोडालिटी यसै बैठकले टुंग्याउने संभावना छ ।

यस विषयको टुंगो लागेमा त्यसले अमेरिकी मिलेनियमा च्यालेञ्ज कर्पोरेशनअन्तर्गतको परियोजनाका लागि मार्ग प्रशस्त गर्ने छ । साथै यसले दुई मुलुकवीच ठूलो परिमाणमा बिद्युत ब्यापार गर्न पनि सजिलो हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here