काठमाडौं । अमेरिकामा आज राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो ।
पूर्वराष्ट्रपति समेत रहेका ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट हुन् ।
यस निर्वाचनबारे भएका सर्वेक्षणहरूले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन् । केही सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अघि देखिएकी छन् । अमेरिकामा ७ करोड ८० लाखभन्दा बढी मतदाताले पहिले नै मतदान गरिसकेका छन् ।
अमेरिकाका अधिकांश क्षेत्रमा नेपाली समयअनुसार मंगलबार साँझ करिब ४: ४५ बजेदेखि मतदान सुरु भई बुधबार बिहान करिब ६ बजेसम्म चल्नेछ ।