तिलिचोको बेस क्याम्पमा पुग्यो राष्ट्रिय प्रसारण ग्रिडको बिजुली

काठमाडौं । तिलिचो तालको आधार शिविर बेस क्याम्पमा राष्ट्रिय प्रसारण ग्रिडको बिजुली पुगेको छ। हिमाल पारिको जिल्ला मनाङको खाङ्सारस्थित समुद्री सतहबाट चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारणलाइन पुर्‍याएर विद्युत आपूर्ति दिन सुरू गरिएको छ।

बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखेर विद्युत आपूर्ति दिइएको बताइएको छ । बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरू सञ्चालनमा छन्। बेस क्याम्पमा विद्युतका ग्राहक संख्या १५ छ।

राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत उत्पादन गरी आपूर्ति हुँदै आएको थियो। उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ।

सौर्य ऊर्जाको व्याकअपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि धेरै सहज भएको बताए।

राष्ट्रिय लाइन पुगेपछि बेसक्याम्पबाट तिलिचो ताल जाने पैदल यात्रीहरूको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ। विद्युतको प्रयोग गरी पानी उमाल्न थालिएको छ।

जसले ग्यासको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ,’ बेस क्याम्पमा होटल समेत सञ्चालन गर्दै आएका वडाध्यक्ष गुरूङले भने, लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्यासको प्रयोगलाई पूर्ण कटौती गर्न सकिन्छ।

उनले उक्त क्षेत्रमा दाउरा महँगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्याँसको प्रयोग हुने गरेको उल्लेख गरे।

केही दिनअघि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सार पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियान अन्तर्गत तिलिचो तालको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्‍याइएको बताए।

वडाध्यक्षसहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भने, ‘बेस क्याम्पमा राष्ट्रिय ग्रिड पुर्‍याउनमा केन्द्रित थियौं, ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधारका कामहरू उच्च प्राथमिकतामा राखि अगाडि बढाउने छौं।’

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत प्रसारणलाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३र११ केभी सबस्टेसनमा पुर्‍याइएको छ।

उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्‍याइएको हो। प्राधिकरणले मनाङमा विद्युत आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत र ८० किलोवाटको मनाङ साना जलविद्युत केन्द्र सञ्चालन गरेको छ।

राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भइ बन्द भएको बेला साना जलविद्युत केन्द्रबाट विद्युत उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए।

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सकेर त्यहाँबाट लाइन दिन सुरू गरेपछि मनाङको विद्युत आपूर्तिमा सुधार हुनेछ।

धारापानी सबस्टेसनमा स्थानीय विद्युत आपूर्तिका लागि आवश्यक संरचनाको व्यवस्था गरिएको छ। उक्त सबस्टेसनबाट लाइन दिन थालेपछि प्रसारण लाइन लम्बाइ घटेर विद्युत अपूर्तिमा सुधार हुनेछ। धारापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सक्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here