काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादमा विद्युत लाइन काटिएका उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्ते निर्णय गरेको हो ।
प्राधिकरण संचालक समितिको बैठकले डेडिकेटेड ट्रंक लाइनको बक्यौता वापतको करिव ६ अर्ब रुपैयाँ १५ दिनभित्र उठाउने मन्त्रिपरिषदको निर्णयबमोजिम बिजुली लाइन जोडिदिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने र महसुल बक्यौता पनि असुल गर्ने निर्णय गरेको थियो । ऊर्जा मन्त्रालयले १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता रहेका उद्योगमा बिल काट्न र बक्यौता उठाउन पनि निर्देशन दिएको थियो ।
प्राधिकरणले उक्त विवादका कारण बिजुलीको बक्यौता नतिरेको भन्दै ३४ उद्योगको लाइन काटिदिएकोमा ६ उद्योगले बक्यौतामध्येबाट पहिलो किस्ता बुझाई लाइन जोडेकाछन् ।