काठमाडौं । बुटवल–नारायणगढ सडकखण्ड विस्तारमा भइरहेको ढिलासुस्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला मन्त्री, कर्मचारी र जिल्लाका जनप्रतिनिधिहरुसँग संयुक्त छलफल गर्दै छन् । आज छलफल बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ ।
यो सडक विस्तारको जिम्मा चिनियाँ ठेकेदारले लिएकोमा काममा ढिलासुस्ती गरेको भन्दै आलोचना हुँदै आएको छ । रुपन्देही, पश्चिम नवलपरासी, पूर्वी नवलपरासीका प्रतिनिधि सभा सदस्य, पालिकाका प्रमुख र जिल्ला समन्वय समितिका प्रतिनिधिहरुसमेतलाई बोलाएर छलफल गर्न लागेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामको सम्झौता २०७५ साल चैत ८ गते भएको थियो ।
गैंडाकोट–दाउन्ने र पश्चिम खण्ड भनिने दाउन्ने–बुटबल सडक १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजारमा ठेक्का सम्झौता भएको थियो । चाइना स्टेट कन्स्ट्रक्सनले गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लिएको हो ।
सरकारले यो सडकखण्डको ठेक्काको म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक म्याद थप गरिएको छ । २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्ने शर्त सहित तेस्रो पटक म्याद थप गरिएकोमा काम आधामात्रै सकिएको छ ।