विद्युत् व्यापारमा आज ऐतिहासिक दिन, पहिलो पटक बंगलादेशमा निर्यात

काठमाडौं । नेपालले बिजुली व्यापारमा आज इतिहास बनाउँदै छ । आज पहिलो पटक शुक्रबार ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुँदैछ ।

असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबिच विद्युत् निर्यातका लागि सम्झौता भएको थियो । यस वर्षका लागि कात्तिक ३० गते एक दिन मात्र बङ्गलादेश विद्युत् निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भारत निर्यातका लागि नेपालले प्रस्ताव गरेका जलविद्युत् आयोजना स्वीकृति तथा अन्य प्रक्रिया मिलाउन समय लागेकाले सुरुवातका रूपमा एक दिनकै लागि भए पनि निर्यात गर्न लागिएको हो ।

गत असोजमा सम्पन्न सम्झौता अनुसार नेपालले पाँच वर्षका लागि हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने तालिका छ ।

शुक्रबार नेपाल, भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीहरूले संयुक्त रूपमा विद्युत् निर्यात शुभारम्भ गर्ने कार्यक्रम तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

कार्यक्रमका अनुसार परराष्ट्र मन्त्रालयमा दिउँसो १२ः५५ मा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशका ऊर्जा सल्लाहकार र भारतका पावर मिनिस्टरले संयुक्त शुभारम्भ गर्ने कार्यक्रम छ । शुक्रबार प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाट चिलिमे जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेश पुर्‍याउँदै छ ।

यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ ।

नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात् बङ्गलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here