`
काठमाडौं । नेपाल अतिकम बिकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति हुँदा आइपर्ने चुनौति सामना गर्न साना उद्यम एवं स्टार्ट अपमा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाहरुले वताएका छन । नेपालले अन्तराष्ट्रियस्तरमा पाइरहेको सुविधा कटौति हुने भएकाले प्रतिष्पर्धि बन्न नवीनता र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने उनीहरुको धारणा छ ।
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको ‘एफएनसिसिआइ इनोभेसन डायलग’मा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले साना, मझौला, र लघु उद्यममा पर्ने प्रभाव कम गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताए । लामो समयदेखि आन्तरिक माग घटेकाले धेरै साना र मझौला उद्यमहरू समस्यामा रहेको वताउँदै अध्यक्ष ढकालले अन्तराष्ट्रियस्तरमा बढने चुनौति सामना गर्न नवप्रवर्तनमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।
नेपाल सन २०२६ नभेम्बरदेखि अतिकम बिकसित मुलुकबाट बिकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदैछ । त्यसपछि युरोपेली युनियनलगायत विभिन्न बिकसित देशहरुमा पाइरहेको भन्साररहित सुविधा गुम्नेछ ।
नेपाली उत्पादनहरू बढ्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सामना गरिरहेको बताउँदै उच्च गुणस्तरका सामान उत्पादन गरी बजारको माग पूरा गर्न व्यवसायीहरूले ध्यान दिनुपर्ने पनि ढकालले बताए । उनका अनुसार व्यवसायीहरुलाई आवश्यक सहयोग सेवा उपलब्ध गराउनेमा सरकारको भूमिका महत्त्वपूर्ण हुनेछ ।
कार्यक्रममा बोल्दै उद्योग सचिव कृष्णबहादुर राउतले पुराना कानुनमा परिमार्जन गरि व्यवसायी मैत्री बनाउने प्रयास भइरहेको वताए । बौद्धिक सम्पत्ति सम्बन्धी कानुन परिमार्जन गरिरहेको उदाहरण प्रस्तुत गर्दै उनले नवप्रवर्तनमा सहयोग पुग्ने गरि नीतिगत सुधार गरिने जानकारी दिए ।
त्यसैगरी, राष्ट्रिय योजना आयोगका सचिव मधु कुमार मरासिनीले नेपालले अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने हुँदा पछि तल झर्न नपर्ने गरि तयारी गर्नुपर्ने धारणा राखे । चुनौति सामना गर्न निजी क्षेत्रले पनि पहल गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सोचाइमा परिवर्तन गर्न आह्वान गर्दै स्तरोन्नतिपछिको प्रगतिलाई कायम राख्न नवप्रवर्तनशील र नयाँ दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता देखाए ।
सम्बन्धित समाचारः
एसएमई विकासमा महासंघले लियो पहल, व्यवसायीलाई सीप, प्रविधि र तालिम उपलब्ध गराउने लक्ष्य
साना र मझौला उद्यमीको प्रवर्द्धन महासंघको प्राथमिकतामा