काठमाडौं महानगरमा ४ प्रतिशत मात्र पसल ‘राम्रा’

काठमाडौं । १० असोजदेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४ सय ९७ मध्ये २० वटा (४.०२ प्रतिशत) मात्र राम्रा भेटिएको पाइएको छ ।

महानगरले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार १ सय ३३ (२६.७६ प्रतिशत) मा म्याद सकिएका वस्तु भेटिएको छ । अनुगमन गरिएकामध्ये ३ सय ११ अर्थात् ६२.५७ प्रतिशतमा मूल्यसूची थिएन ।

यस्तै २ सय अर्थात ४०.२४ प्रतिशत व्यवसाय नै दर्ता नगराइ पसल सञ्चालन भएको पाइएको छ । यसरी अनुगमन गरिएका पसलमध्ये ४ सय ३८ किराना, १८ मिठाइ, १९ ड्राइ फुड, ७ मसला र १५ डेरी पसल थिए ।

अनुगमन प्रतिवेदन अनुसार २९ कात्तिकदेखि नियमित चलिरहेको मःम पसल, होटल तथा रेस्टुरेन्ट अनुगमन क्रममा ५२ व्यवसायको जाँच गरिएको छ । यस क्रममा ४५ वटा (८६.५८ प्रतिशत) मा व्यक्तिगत सरसफाइ कमी देखिएको थियो ।

४० वटा (७६.९२ प्रतिशत) को भान्सा र कार्यस्थल सरसफाइमा कमी देखियो । १३ वटा (२५ प्रतिशत) व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको पाइयो । बिहीबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव एवं कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले अनुगमन प्रतिवेदन पेस गर्दै यससम्बन्धी जानकारी दिएका थिए ।

‘बजारमा बिस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केचप, जामजस्ता खाद्यवस्तुमा म्याद सकिएको भेटिएको छ । रसायन भएका वस्तुसँगै खाद्यवस्तु राखिएको, मूल्यसूची नराखिएको, व्यवसाय दर्ता नगरेको, पसल परिसर सरसफाइमा ध्यान नदिएको, लेबल नभएका वस्तु बेच्न राखिएको, ढकतराजु प्रमाणीकरण नगरी प्रयोग गरिएको जस्ता समस्या भेटिए,’ प्रतिवेदनमा छ ।

यस्तै मिठाइ पसलमा स्वीकृत कोलटार रङ प्रयोग गरिए पनि मात्रा नमिलाएको, तेल बारम्बार प्रयोग गरिएको, मिठाइमा उत्पादन मिति र म्याद सकिने मिति उल्लेख नगरिएको, मिठाइ बनाउने ठाउँ, पसल र भाँडाकुँडा सरसफाइमा उचित ध्यान नदिइएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here