काठमाडौं । बुधबारदेखि बन्द भएको राहदानी वितरण सेवा राहदानी विभागको त्रिपुरेश्वरस्थित मुख्य कार्यालयबाट सुरु भएको छ । अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भर्न पाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।
सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै विभागले आफ्नो कार्यालयबाट सेवा लिने गरी आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बताएको छ । जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गरिने विज्ञप्तिमा उल्लेख छ । त्यसका लागि एक–दुई हप्ता लाग्न सक्ने विभागको भनाइ छ ।
जिल्ला–इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा सेवा थाल्न भोलिदेखि परीक्षणको काम थालिने विज्ञप्तिमा उल्लेख छ ।
यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइको काम नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला÷ईलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको विभागले जानकारी दिएको छ ।
आ–आफ्नो जिल्लारइलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिने सम्बन्धी अध्यावधिक जानकारीका लागि सम्पर्क गर्नुहुन समेत सूचित गरिएको छ ।
‘सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको बेहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा सबै पक्षबाट सहयोगको अपेक्षा गर्दै सेवाग्राहीमा पर्न गएको असुविधा प्रति विभाग क्षमाप्रार्थी छ ।’