काठमाडौं । विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन थालेका हुन् ।
नेपालमा पनि आज सार्वजनिक बिदा दिइएकाे छ ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् ।
क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
नेपालमा पनि ४ सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् ।