पशुपतिमा गाँजा निषेध, कोष भन्छ : विश्व सम्पदा सूचिको मर्यादा राख्नुस

काठमाडौं, १८ फागुन । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्र महाशिवरात्रीका दिन पनि नशालु पदार्थ प्रयोग निषेध गरेको छ । पशुपति क्षेत्र विश्व सम्पदा सूचि रहेको र यसको मर्यादा कायम राख्न सबै प्रकारका नशालु पदार्थ सेवन तथा बिक्रि वितरण बन्द गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । यसपटकको महाशिवरात्री पर्व सोमबार परेको छ । कोषले शनिबार पत्रकार सम्मेलन गरी महाशिवरात्री मेलाको तयारी सम्पन्न भइसकेको जानकारी दिएको छ ।


४ लाइन
यस पटकको महाशिवरात्री मेलामा कूल ४ वटा लाइन हुने कोषले जानकारी दिएको छ । कोषका अनुसार व्यवस्थापनका लागि करीव ५ हजार स्वयमसेवक फिल्डमा खटिदैछन् । त्यसबाहेक सबै निकायका सुरक्षाकर्मी र कोषको विशेष टोली पनि व्यवस्थापन र शान्ती सुरक्षाका लागि खटिने कोषले उल्लेख गरेको छ । महाशिवरात्री पर्वको अवसरमा देशभरबाट १० लाख भन्दा बढी तीर्थालु पशुपतिनाथ मन्दिर दर्शनका लागि पुग्ने अनुमान छ ।

प्लाष्टिक निषेध
पशुपति क्षेत्र भित्र प्लाष्टिक निषेष गरिएको छ । कोषले महाशिवरात्रीको दिन भोजन, चिया र पानी वितरण गर्ने कुनै पनि संघ संस्थाले प्लाष्टिकका सामान प्रयोग नगर्न कोषले सचेत गराएको छ । यस दिन १ सय संघसंस्थाले भोजन, पानी तथा चिया वितरण गर्न अनुमति लिएका छन् । कोषका अनुसार दर्शनार्थीको सुरक्षा तथा स्वास्थ्य समस्यालाई ध्यानमा राखि १० वटा सस्थाले स्वास्थ्य शिविरको अनुमति लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here