काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा सञ्चालनमा रहेको उद्योगहरु ४८.५१ प्रतिशत क्षमता उपयोगमा चलेको देखाएको छ । अघिल्लो आर्थिक वर्ष उद्योगहरुको यस्तो क्षमता उपयोग ५२.२९ प्रतिशत थियो ।
सो प्रदेशमा सञ्चालन भएका उद्योगहरुमध्ये प्लाष्टिकका सामानसम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको छ भने सबैभन्दा कम अन्न तथा पशुदाना अन्तर्गत पिठो उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता १५ प्रतिशत मात्र रहेको छ ।
सो अवधिमा कागज उत्पादन ९, काठ तथा काठकोे सामानको ५३, अन्य खाद्य पदार्थ (प्रशोधित चिया) ५१.११, अन्य (अन्य लत्ता कपडा) ४८.९४ र पशुदाना उत्पादन गर्ने उद्योगहरु अन्तर्गत चामल उत्पादन सम्बन्धी उद्योग ४१.६७, प्रशोधित दूध उत्पादन सम्बन्धी उद्योगको २१.२३ र पशुदाना सम्बन्धी उद्योगको उपयोग क्षमता १६.६७ प्रतिशत रहेको छ ।
यस प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, कच्चा पदार्थको अभाव तथा विकट भौगोलिक बनावट जस्ता प्रमुख कारणहरुले गर्दा ठूला उद्योगहरुको सञ्चालन हुन सकेको देखिदैन ।
घरेलु, साना तथा मझौला उद्योगहरु मध्येबाट केही उद्योगहरु अध्ययनमा नमुना छनोटको रुपमा लिईएको छ ।
समीक्षा वर्षमा कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुमध्ये अधिकांश उद्योगहरुको उत्पादनमा वृद्धि आएको देखिन्छ भने प्रशोधित चिया र प्लाष्टिकका समान उत्पादनमा कुनै पनि परिवर्तन भएको छैन ।