काठमाडौं । नेपाल–भारत वाणिज्य सचिव स्तरीय व्यापार तथा पारवहन अन्तरसरकारी समिति (आईजीसी) बैठक आजबाट काठमाडौंमा चल्दैछ । बैठकमा दुई देशबीचको वाणिज्य सन्धि परिमार्जनका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव गोविन्दबहादुर कार्की र भारतीय समकक्षी सुनिल बर्थवाल सहभागी हुँदैछन् ।
सन् २०२० पछि दुई देशबीच वाणिज्य सचिव स्तरमा यस्तो वार्ता हुन लागेको हो । मन्त्रालयका अनुसार यस पटक विभिन्न तीन सन्धि तथा सम्झौताले नियमन गर्ने विषयको परिधिमा रहेर एजेन्डा तय गरिएको छ ।
नेपाल–भारत व्यापार सन्धि २००९ को समीक्षा, नेपाल–भारत पारवहन सन्धि २०२३ अन्तर्गतका केही सम्झौता र अनधिकृत व्यापार सम्झौता २००९ का विषयमा छलफल हुने बताइएको छ ।
नेपाल र भारतबीच आलोपालो यस्तो बैठक आयोजना हुने गरेको छ । यसअघि नयाँदिल्लीमा भएको बैठक यस पटक नेपालमा हुन लागेको हो । आईजीसी बैठक ६–६ महिनामा बस्ने प्रावधान छ । तर, यस पटक भने लामो समयपछि बस्न लागेको हो ।
गत वर्ष माघमा काठमाडौंमा भएको व्यापार, पारवहन र सहकार्यसम्बन्धी भारत–नेपाल अन्तरसरकारी उपसमिति (आईजीएससी) बैठकले दुई देशबीचको वाणिज्य सन्धि संशोधन प्रक्रिया पुनः थाल्ने सहमति गरेको थियो । सोही अनुसार यसपटकको आईजीसी बैठकमा त्यही एजेन्डामा प्रमुख रूपमा छलफल हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।