माइती नेपालको अक्षय कोषमा १ करोड दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा सोमबार स्थलगत अवलोकन गरेका छन् । उनले उक्त संस्थाको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गरे ।

चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरे ।

उहाँले नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकोमा सन्तोष व्यक्त गरे ।

अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले संस्थामा महिलाको उद्धार गरी ल्याइएका महिलाका लागि सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुललगायत स्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीले माइती नेपालमा रहेका प्रभावित महिला, बालबालिका र विद्यार्थीसँग भेटसमेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here