काठमाडौं । पुँजी बजारमा २५ करोडसम्म पुँजी भएका संगठित संस्थाको छुट्टै सेयर कारोबार हुने भएको छ । बिहीबारदेखि ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली २०८१’ लागु भएको छ । यसले बढीमा २५ करोडसम्म पुँजी भएका कम्पनीको छुट्टै प्लाटफर्ममार्फत सेयर किनबेच गर्न बाटो खोलेको हो ।
नियमावली कार्यान्वयनका लागि बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई पनि पत्राचार गरिसकिएको बोर्डले जनाएको छ ।
आईपीओ निष्कासन गर्दा उल्लिखित कम्पनीलाई क्रेडिट रेटिङ अनिवार्य गरिएको छैन । तर धितोपत्र बोर्डले आवश्यक देखेमा क्रेडिट रेटिङ गर्न लगाउन सकिने व्यवस्था पनि नियमावलीमा उल्लेख छ । साना तथा मझौला कम्पनीले सेयर जारी गर्दा ५० प्रतिशतभन्दा कम सेयर मात्रै बिक्री भए यो प्रक्रिया नै रद्द हुने व्यवस्था पनि नियमावलीमा छ ।