भ्रमणका लागि एक वर्षमा झण्डै ३ लाख नेपाली विदेश उडे, मूख्य गन्तब्य थाइल्याण्ड की भारत ?

काठमाडौं । नेपालीहरुको विदेश भम्रण तालिका बाक्लिन थालेको छ । यससँगै एक वर्षमा भ्रमणका लागि विदेशिने नेपालीको संख्या पनि झण्डै तीन लाख नजिक पुगेको छ ।

अध्यागमन विभागका अनुसार सन् २०२४ मा विदेश घुमफिरमा २ लाख ७४ हजार ४२८ जना नेपाली गएका छन् । जसमध्ये १ लाख ५९ हजार ४३ पुरुष र १ लाख १५ हजार ३५६ जना महिला छन् ।

यो अघिल्लो वर्ष सन् २०२३ को तुलनामा धेरै हो । सो वर्ष २ लाख ४ हजार ५१८ जना नेपाली विदेश घुमफिरमा गएका थिए ।

सन् २०२४ मा कुल १७ लाख ७४ हजार २२५ जना नेपाली नागरिक विभिन्न प्रयोजनमा विदेश गएका छन् । विभागले सन् २०२३ बाट प्रयोजनगत रूपमा नेपालीहरुको विदेश यात्राबारे विवरण सार्वजनिक गर्न थालेको हो ।

नेपालीको प्रमुख गन्तब्य भारत र थाइल्याण्ड छन् । यसबाहेक खाडीमुलुकहरु समेत रहेका छन् । मलेसिया, इण्डोनेसिया, भियतनाम र श्रीलंकामा पनि नेपालीको जाने क्रम बढेको पाइन्छ ।

एक वर्षको अवधिमा बिजनेस प्रयोजनमा भने २० हजार १०१ जना नेपाली विदेश उडेको पाइएको छ । जसमा १७ हजार ४०५ पुरुष र २ हजार ६९५ महिला छन् । यो संख्या गत वर्षको तुलनामा बढी हो ।

सन् २०२३ मा १८ हजार ९६४ जना बिजनेस प्रयोजनमा विदेश यात्रा गरेका थिए । सन् २०२४ मा विभिन्न तालिम, सेमिनार र सम्मेलनमा भाग लिन भने २४ हजार २६२ नेपाली विदेश उडेको पाइएको छ ।

जसमा १७ हजार १६६ पुरुष र ७ हजार ८९ महिला छन् । यो अवधिमा आधिकारिक भ्रमणमा विदेश उड्नेहरू भने १३ हजार २९३ जना छन् । जसमा १० हजार १०१ पुरुष र ३ हजार १९१ महिला रहेको तथ्यांकमा देखिन्छ ।

आधिकारिक भ्रमणमा विदेश जानेको संख्या यसवर्ष केही कम भएको छ । सन् २०२३ मा १६ हजार १११ यस्तो प्रयोजनमा विदेश उडेका थिए । पर्यटनसहित सेवा क्षेत्रको आय पछिल्लो समय ऋणात्मक देखिन्छ ।

नेपालमा आउने पर्यटकभन्दा नेपालीले विदेश भ्रमणमा बढी खर्च गर्दा सो देखिने गर्छ । सन् २०२४ मा विदेशबाट नेपाल भ्रमणमा आएका पर्यटकको संख्या भने साढे ११ लाख हाराहारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here