काठमाडौं । राष्ट्रिय स्तवन्त्र पार्टी रास्वपाले सरकारले संसद्मा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकका प्रावधानहरू स्वीकार गर्न नसक्ने बताएको छ ।
प्रतिपक्षी दल रास्वपाका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि कानुन स्वीकार गर्न नसकने बताएका हुन् । साथै अविलम्ब उक्त विधेयक फिर्ता लिन पार्टीले आग्रह गरेको बताएका छन् ।
रास्वपाको विज्ञप्तिमा अध्यादेशका गलत बाछिटाहरूले राजनीतिलाई दूषित बनाइरहेको र सोही सेरोफेरोमा सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने प्रयास भएको भन्दै उक्त नियत गलत भएको उल्लेख गरेको छ । ‘अध्यादेशका गलत बाछिटाहरूले नेपाली राजनीतिलाई दूषित बनाउँदै गर्दा त्यसकै सेरोफेरोमा आएको यो विधेयक पछाडिको नियत सही देखिँदैन,’ रास्वपाले भनेको छ ।
सरकारले यस विधेयकलाई अविलम्ब फिर्ता लिई यसका प्रत्यक्ष र परोक्ष सरोकारवालाहरुसँगको परामर्श तथा संवैधानिक मूल्य–मान्यता अनुरूप पुनर्लेखन गर्न आग्रह गर्दछौं ’ विज्ञप्तिमा भनिएको छ ।