काठमाडौं । घरेलु बालश्रमिक राखेको मुद्दामा सरकारी वकिलले मुद्दा नचलाउने तयारी गरिरहेको पृष्ठभूमिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिक्रिया दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरी नानु, तिम्रा पीडकका विरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ ।’
एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्माले घरमा बालश्रमिक राखेको मुद्दा महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ । शर्माको घरमा ६ वर्षदेखि काम गरिरहेकी बालिकाले आफूमाथि कुटपिट गरेको बताएकी थिइन् ।
महानगरपालिकाले उनको उद्धार गरेको थियो । उद्धारपछि महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र प्रहरीले घटनास्थलको मुचुल्कासमेत गरेका थिए । यो घटनामा उनले लेखेका छन्, ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’
गत जेठ १४ मा काठमाडौं महानगरपालिकाले १४ वर्षीया किशोरीको उद्धार गरेको थियो । उनलाई उद्धार गर्नुअघि महानगरका इन्टर्न विद्यार्थीले उनी पढ्ने विद्यालयमा आमाबाबु र नातागोताबाहेकको व्यक्तिको घरमा बस्ने बालबालिकाको अवस्था तथा तथ्यांक विश्लेषण गर्न फारम भराएका थिए ।
फारम भर्ने क्रममा कक्षा ७ मा अध्ययनरत ती किशोरीले आफूलाई सांसद शर्माले घरेलु कामदारका रूपमा राखेको, शर्माको घरमा खाना पकाउने, कपडा धुने, फूलबारी गोडमेल गर्ने, झाडुरपोछा लगाउने काम गराएको र शर्माले आफूलाई हात र पाइपले कुट्ने गरेको पनि खुलाएकी थिइन् ।
प्रदेशसभा सदस्य शर्माका घरबाट बालिका उद्धार गरेपछि बालबालिकालाई दास बनाउने कसुर गरेको अभियोगमा फौजदारी मुद्दा चलाउन उनलाई पक्री अनुसन्धान गरी पाऊँ भन्दै महानगरले प्रहरीकहाँ निवेदन पनि दायर गरेको थियो ।
तर पनि शर्मा पक्राउ नपरेपछि काठमाडौंका मेयर शाहले त्यसमा पनि एमालेको हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा आक्रोशपूर्ण टिप्पणी गरेका थिए ।
बालेनको उक्त टिप्पणी अभद्र भएको भन्दै एमालेको उजुरीमा त्यसलाई फेसबुकले सञ्जालबाट हटाएको थियो । त्यसको विरोधमा बालेनले स्टाटस नै लेखेका थिए, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मैलाई समाऊ, होइन भने दोषी समाऊ ।’























[…] उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो ।’ बालश्रमिक राखेको मुद्दामा एमाले नेता… […]