६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै विद्युत खरिद प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । चालू आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेकाेमा त्यसपछि निरन्तर नाफामा छ । गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट १ अर्व १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरुबाट ५ अर्व १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ ।

खरिद गरिएको विद्युतका लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । त्यस्तै भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।

गत साउनदेखि पुससम्ममा १ अर्व ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ ।

यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फवाट १३ अर्व ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुक्तानि तर्फ १० अर्व ४९ करोड रुपैयाँ खर्च भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here