काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज काठमाडौं उपत्यकासहितका जिल्लामा पानी परेको छ। हिउँदयामको अन्तिम अवधिमा देशका विभिन्न भागमा पानी पर्ने तथा हिमाली भेगमा हिमपात भएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी प्रभाव रहेकाले बढी पानी परिरहेको जल तथा मौसम विभागले जानकारी दिएको छ ।
गत २४ घण्टामा बैतडीको डिलासैनीमा ३९ मिलिमिटर र गोठालपानीमा ३४ मिलिमिटर वर्षा भएको छ । यसैगरी बाजुरामा ३८, जुम्लामा ३३ र कालिकोटमा ३० मिलिमिटर वर्षा र कास्कीको माछापुच्छ्रे क्याम्पमा २४दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ ।
अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरुमा र गण्डकी, बागमतीका पहाडी भूभागका एक र दुई स्थानमा वर्षा भइरहेको छ । रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ।
























