काठमाडौं । सरकारले शैक्षिक परामर्शदातृ निकायलाई फ्रि–भिसा, रोजगारीको ग्यारेन्टी, डिपेन्डेन्ट भिसा उपलब्ध गराइने लगायतका प्रलोभन नदिन निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्ताे निर्देशन दिएकाे हाे। सेवाग्राहीलाई प्रलोभन देखाउने गरेकाे गुनासो आएपछि मन्त्रालयले ८ बुँदे निर्देशन जारी गरेको छ ।
मन्त्रालयले जारि गरेकाे सूचनामा अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि भनेको छ ।
त्यसैगरी मन्त्रालयले अभिलेखमा कायम नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनको लागि सिफारिस नगर्न कन्सल्टेन्सीहरूलाई निर्देशन दिएको छ ।
सरकारले सेवाग्राहीलाई शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाहरूबाट मात्र परामर्शसम्बन्धी सेवा लिन समेत आग्रह गरेको छ ।
त्यस्तै संस्था कानुन सम्मत स्थापना नभएको र सम्बन्धित मन्त्रालयबाट सेवा प्रदानको अनुमति लिएको रहेनछ भने स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराई सहयोग समेत बताएको छ।