नेपाली खाना प्रवद्र्धन अभियान शुरु, सेफ कँडेल र खड्काले चखाए स्वाद

`
काठमाडौं, ११ फागुन । नेपाली खाना प्रवद्र्धन अभियानको काठमाडौंबाट औपचारिक शुरुवात गरिएको छ । कृषि तथा पशुपंछि विकास मन्त्री रामनाथ अधिकारीको उपस्थितिमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आधुनिक तरिकाले तयार गरिएका नेपाली परिकारहरु चखाएर अभियान शुरु भएको हो ।

अभियानमा अन्तर्राष्ट्रिय सेफ दुर्गाबहादुर खड्का र घनश्याम कँडेल पनि जोडिएका छन् । नेपाली खानालाई फ्यूजन गरी अन्तर्राष्ट्रिय बजारमा समेत पस्कने सेफ खड्का र कँडेलको तयारी छ ।


बायाँबाट क्रमशः सेफ कँडेल र खड्का ।

सोमबार काठमाडौको सोह्रखुट्टेस्थित होटल हिमालयन सुइटमा आयोजित भोजनलिपि–स्वादमा इलाम, धनुषा, सर्लाही, चितवन, नवलपरासी, रोल्पा, बागलुङ, जुम्ला, लगायत जिल्लाका ताजा कृषि उपजहरुको परिकार तयार गरिएको थियो ।


रेन्बो मोमो

यसका साथै नेपाली खाना प्रवद्र्धन अभियानले किसान र होटल व्यवसायीसँगको समन्वयमा नेपाल भरका खाद्यान्न र परिकार काठमाडौंमै उपलब्ध गराउने भएको छ ।

किसानसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरुको उत्पादनलाई देशका प्रमुख सहरहरुमा स्वादिष्ट परिकार बनाएर पस्कने अभियानको तयारी छ । होटल, रेष्टुराँ वा घरमै लगेर पनि खान पाउने गरी संयोजन गर्न लागेको नेपाली खाना प्रवद्र्धन अभियानले जनाएको छ ।

मन्त्री अधिकारीले नेपाली उत्पादनको बजारीकरणमा सरकारले हरतरहले सहयोग गर्ने प्रतिवद्धता जनाए । खाद्यान्न,फलफूल, दुध, माछा, मासुजस्ता किसानका उत्पादनको बजारीकरणमा अभियानले समन्वय गर्ने अभियानका संयोजक अमृत सापकोटा को भनाइ छ ।

सुरुमा खाद्यान्न, फलफूलजस्ता मौसमी उत्पादनहरुको बजारीकरण गरिने र विस्तारै पर्यटकीय गन्तव्य, हस्तकला तथा साना उद्यमीहरुका उत्पादनको बजारीकरणमा समन्वय गरिने उनले जानकारी दिए ।

त्यसैगरी, कृषि उत्पादन र बजारीकरणमा साथ दिएर किसान र माटोप्रति माया जगाउन आफू अभियानमा लागेको सञ्चारकर्मी एवं कृषि पर्यटनका अभियन्ता देवीप्रसाद सापकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here