काठमाडौं । नेपाल शिक्षक महासंघले सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । साथै अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आव्हान गरेको छ।
त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ। ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौं,’ महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनु हुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौं’ बिज्ञप्तिमा उल्लेख छ।
शिक्षा ऐन जारीकाे माग गर्दै नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको हो ।
सरकारले बैठकमा बोलाए पनि शिक्षकहरू छलफलमा गएका छैनन् । बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षकहरूको माग सम्बोधन गर्ने भनेर शुक्रबार बस्ने गरी वार्तामा बोलाएका थिए ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सिंह शिक्षकहरुको माग सम्बोधन गर्ने अवस्थाको सुनिश्चित नभएसम्म वार्तामा नजाने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकमा माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै आन्दोलन गरेर दुःख नपाउन आग्रह गरेका थिए।






















