लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन मंगलबारदेखि

काठमाडौं । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने भएको छ । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण मार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नारासाथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जानकारी दिएको छ । कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तर्क्रिया हुने आयोजकले जनाएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा पाँच प्राविधिक तथा दुई पूरक सहित कुल ७ सत्र सञ्चालन हुँदैछन् । कर प्रणाली र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणका लागि गहन छलफल मार्फत उपयुक्त नीति निर्माण, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आइक्यानले जानकारी दिएको छ । सम्मेलनले लेखा पेसाको उन्नति र आर्थिक विकासमा समेत योगदान पु‍र्‍याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ७ सेसनमा ३५ वक्ता सहभागी हुनेछन् । चार जनाले प्रस्तुति दिनेछन् । पाँच जना अन्तर्राष्ट्रिय प्रतिनिधि समेत उपस्थित हुने आयोजकले जनाएको छ । सम्मेलनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब १ हजारको सहभागिता रहने अनुमान छ ।

मंगलबार हुने उद्घाटन कार्यक्रममा आइक्यान अध्यक्ष प्रविनकुमार झा र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, डेपुटी महालेखा परीक्षक बामदेव शर्मा अधिकारी र दक्षिण एसियाली लेखा महासंघ अध्यक्ष अशाफाक युसुफ तोलासमेत उपस्थित रहने जनाइएको छ ।

चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष अरुण राउत र अडिटर्स एसोसिएसन अध्यक्ष बद्रिप्रसाद भट्टराईको समेत उपस्थिति रहनेछ । आइक्यान उपाध्यक्ष निलबहादुर मगरले कार्यक्रम समापन गर्ने योजना छ । सम्मेलन उद्घाटनपछि पहिलो सेसन सुरु हुनेछ । पहिलो सत्रमा सार्वजनिक वित्तीय व्यवस्थापनको नवीनता तथा विश्वव्यापी प्रवृत्ति र नेपालमा कार्यान्वयन स्थितिबारे छलफल हुनेछ ।

उक्त सत्रमा चार्टर्ड एकाउन्टेन्ट संस्था भारतका अध्यक्ष चरणजोत सिंह नन्दले अध्यक्षता ग्रहण गर्नेछन् । आइक्यानका पूर्वअध्यक्ष नरेन्द्र भट्टराईले मोडरेटर तथा पूर्वउपमहालेखा परीक्षक रामुप्रसाद डोटेलले पेपर प्रिजेन्टेसन गर्ने कार्यक्रम छ । प्यानलिस्टमा सरकारका सहसचिव सुवासचन्द्र सिवाकोटी, सीए हेमकुमार काफ्ले र दक्षिण एसियाली लेखा महासंघका प्रतिनिधि रहने कार्यक्रम छ ।

दोस्रो सत्रमा दिगो अर्थतन्त्र र सार्वजनिक वित्तीय व्यवस्थापनमा भइरहेका पहल एकीकृत गर्ने गरी परामर्श हुनेछ । यसमा आइक्यान सदस्य आनन्दराज शर्मा वाग्लेले मोडरेटर गर्नेछन् । श्रीलंकाका काउन्सिल मेम्बर शमन श्रीलाले पेपर प्रिजेन्टेसन दिनेछन् । तेस्रो सत्र सार्वजनिक वित्तीय व्यवस्थापन सुधार तथा लेखा व्यवसायीको भूमिकामा केन्द्रित रहने छ । जसमा उपमहालेखा परीक्षक बैकुण्ठबहादुर अधिकारीले अध्यक्षता ग्रहण गर्नेछन् । सीए ठाकुरप्रसाद अधिकारीले मोडरेटर तथा सीए नन्दकिशोर शर्माले पेपर प्रिजेन्टेसन गर्नेछन् । छलफल सत्रमा सीए विश्वराज बसौला, गोरखबहादुर शाही, सीए भवनाथ दाहाल र सीए सञ्जिता नेपाल रहनेछन् ।

चौथो सत्र वैदिक साहित्य र वित्तीय अनुशासनमा केन्द्रित रहने छ । यो सेसनमा सीए हरिकुमार सिलवाल मोडरेटर रहनेछन् भने अर्जुनप्रसाद बास्तोलाले पेपर प्रिजेन्टेसन गर्नेछन् । पाँचौ सत्र ‘स्वस्थ जीवनका लागि स्वस्थ आहार’ मा केन्द्रित रहने छ । डा. उमेश श्रेष्ठले प्रस्तुति दिनेछन् । छैटौं सेसनमा ‘रणनीतिक कर सुधार ः लचिलो कर प्रणालीमा अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन’ का विषयमा छलफल हुनेछ । जसमा सीए निलबहादुर सारु मगर मोडरेटर हुनेछन् । प्यानलिस्टमा पूर्वसचिव रामेश्वर खनाल, आइक्यान पूर्वअध्यक्ष सुदर्शनराज पाण्डे, उद्योग वाणिज्य महासंघ कर तथा राजस्व कमिटी अध्यक्ष अम्बिकाप्रसाद पौडेल, आन्तरिक राजस्व विभागका डेपुटी डाइरेक्टर पदमकुमार श्रेष्ठ, दक्षिण एसियाली लेखा महासंघका प्रतिनिधि रहनेछन् ।

अन्तिम तथा सातौं सेसनमा लचिलो कर निर्माणमा लेखा व्यवसायीको भूमिकामा केन्द्रित रहने छ । जसमा मोडरेटरका रूपमा सीए सुनिल देवकोटा रहनेछन् भने प्यानलिस्टमा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, सहायक महालेखा परीक्षक घनश्याम पराजुली, सीए उमेशराज पाण्डेय, सीए झलकमणि लम्साल र सीए शेशमणि दाहाल रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here