जागिर र श्रमिक खोज्न उपयोगी पोर्टल सञ्चालन

काठमाडौं । सरकारले श्रम बजार सूचना प्रणाली (श्रम संसार) पोर्टल सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसर पारी श्रम तथा रोजगार मन्त्रालयले यस्तो पोर्टल उद्घाटन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट पोर्टल सुरु गरे । मन्त्रालयका अनुसार सन् २०२३ मा कोशी प्रदेशमा यस्तो पोर्टल विकास गरी प्रारम्भिक रूपमा विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण गरिएको थियो ।

परीक्षण सफल भएसँगै कोशी प्रदेशका १ सय ३७ वटै स्थानीय तहको प्रणालीमा आबद्ध गरिएको मन्त्रालयले जनाएको छ । श्रममन्त्री शरतसिंह भण्डारीको अग्रसरतामा देशभरिका ७ सय ५३ वटै स्थानीय तहलाई यस पोर्टलमा समट्ने गरी लक्ष्य राखिएको र यसका लागि प्राविधिक समिति बनाएर काम थालिएको समेत मन्त्रालयको भनाइ छ ।

श्रम मन्त्रालय र स्विस कन्ट्याक्टबीच १० मार्च २०२५ मा श्रम संसार प्रणालीलाई देशभरि विस्तार गर्ने गरी साझेदारीमा हस्ताक्षर भएको हो । पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा उक्त सम्झौता भएको थियो ।

मन्त्रालयका अनुसार राष्ट्रिय श्रम बजारमा रहेको रोजगारी, तालिम तथा उद्यमशिलताका अवसरको सूचना सहजै उपलब्ध गराउने उद्देश्यले यस्तो पोर्टल सञ्चालनमा ल्याइएको छ ।

यस प्रणालीमा संघ, प्रदेश तथा स्थानीय सरकार, रोजगार खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार तथा श्रम बजारका अन्य सरोकारवाला निकाय समेत आबद्ध छन् ।

संघ र प्रदेश सरकारको समन्वयमा हरेक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत यस्तो पोर्टल सञ्चालन हुने भएको छ । देशभरि रहेका रोजगारीका अवसरबारे जानकारी लिई सजिलै आवेदन दिन सकिने भएको छ ।

पोर्टल मार्फत नै सिपमूलक तालिम जानकारी लिनुका साथै आवेदन समेत दिन सकिने गरी पोर्टल बनाइएको छ । यसमार्फत स्वरोजगारले समेत आफ्नो सिपको विज्ञापन समेत गर्न सक्ने भएका छन् । यहाँ श्रम सम्बन्धी नीति, नियम तथा जानकारी एकमुष्ट राखिएको मन्त्रालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here